प्रेस स्वतन्त्रताको पूर्वसन्ध्यामा यसरी कुटिए पत्रकार (पीडितको वयानसहित)

राससका पत्रकारमाथि अज्ञात समूहको आक्रमण

२० वैशाख, काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार रमेश लम्सालमाथि राजधानीमै सांघातिक आक्रमण भएको छ । कार्यालयबाट काम सकेर डेरातर्फ गइरहेका बेला बिहीबार राति ११ बजेतिर काठमाडौँको मनमैजु नेपालटारमा अज्ञात व्यक्तिहरुको एक समूहले लम्सालमाथि आक्रमण गरेको हो । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले आफूलाई निर्घात कुटपिट गरेको लम्सालले बताउनुभयो ।



कुटपिटबाट पत्रकार लम्सालको मुख र ढाडमा चोट लागेको छ । लम्सालमाथि कुटपिट भएको थापा पाएर नजिकै पूर्वप्रधान सेनापति धर्मपालवरसिंह थापाको निवासमा सुरक्षार्थ तैनाथ नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । सैनिक टोली आइपुगेलगत्तै कुटपिटमा संलग्न समूह मोटरसाइकल चढेर भागेको लम्सालले बताउनुभयोे । लम्साल क्रान्तिकारी पत्रकार संघ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य हुनुहुन्छ ।यसैबीच नेपाल पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संघले लम्सालमाथि भएको कुटपिटको भत्र्सना गर्दै घटनामा सलग्न समूहको पहिचान गरी कडा काराबाही गर्न सरकारसँग माग गरेका छन् । महासंघका महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यानाकर्षण गराइएको छ । यस्तै क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले पनि पत्रकार लम्सालमाथि आक्रमण गर्नेको खोजी गरी सख्त कारबाही गर्न विज्ञप्तिमार्फत सरकारसँग माग गर्नुभएको छ

आफूमाथिको आक्रमणबारे पत्रकार लम्साल लेख्नुहुन्छ-

सदाझैं विहीबार राति १० बजे राष्ट्रिय समाचार समितिमा समाचार लेखनको काम सकेर कोठामा फर्कदै थिएँ । विहान विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रभातफेरीमा सहभागी हुनुपर्ला भनेर सहकर्मी साथीहरुसँग छलफल गरी कार्यालयबाट कोठामा फर्किएको थिएँ । राससबाट रातिको समयमा घर-घर पुर्‍याउने सवारी साधनको कमीले गर्दा लामो रुटको यात्रा गर्नुपर्ने भयो । हामी चढेको सवारी साधन ललितपुरको कुपन्डोल, भैसेपाटी लगायतका स्थानमा पुगेर मेरो कोठा रहेको स्थान बालाजु, नेपालटार मनमैजु लाने भन्ने रुट तय गरे चालक राजेश चौलागाईले ।

सोही रुटअनुसार अंग्रेजी सम्पादन शाखाका कृष्णप्रसाद सापकोटा, नेपाली सम्पादन शाखाका सोमनाथ लामिछाने सरलाई भैंसेपाटी छाडेर सवारी चालक राजेश र म कलंकी हुँदै स्वयम्भु, बालाजुचोक, बाईपास हुँदै नेपालटारतर्फ जाँदै थियौं । सवारी साधनमा राजेश र म रहेकाले उनीसँग कार्यालय र घर व्यवहारका कुरा गर्दै अगाडि बढेका थियौं । यात्रा अरु दिनभन्दा एकदमै रमाइलो भएको थियो । हामी हाँस्दै रमाइलो गर्दै अगाडि बढेका थियौं । मेरो कोठा नेपालटार पुग्नुभन्दा पहिले नै बालाजु बाईपासबाटै हामी सवार राष्ट्रिय समाचार समितिको भ्यानलाई पिछा गरिएको रहेछ । रातिको समय कोही घर र्फकंदै होलान् भनेर कुनै वास्ता गरिएन ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवरसिंहको निवास नजिक पुगेपछि सवारी चालक चौलागाईले भ्यान फर्काए । उनीसँग विदा भएर सडकमा के ओर्लेको थिएँ, एउटा अजङ्गको मोडीफाइड गरिएको मोटरसाइकल आएर म नजिकै रोकियो । मोटरसाइकलमा पछाडिपट्टी बस्नेले सोध्यो । यो बाटो कहाँ जान्छ ? मैले उनीहरुपट्टी नहेरी जवाफ दिएँ ‘फुटुङ साङ्ला’ ।मेरो जवाफलगत्तै त्यो मोटरसाइकल २० मिटर जति पर गएर रोकियो । मोटरसाइकल रोकिएको एक निमेष पनि बित्न नपाउँदै अर्को त्यस्तै मोडिफाइड गरिएको पल्सर आएर रोकियो । त्यसमा पनि दुईजना थिए । उनीहरु हेर्दा मंगोलियन अनुहारका थिए । सो मोटरसाइकल रोकिनेवित्तिकै सोही मोटरसाइकलमा पछाडिपट्टी बस्नेले मोटरसाइकलबाट झरेर मलाई भटाभट हान्न थाल्यो । अनि भन्यो ‘साले तँ माओवादीको समाचार लेख्छस् होइन ? उसले मलाई पहिलोपटक अनुहारमा कसेर बाघे झाप्पु लगायो । उसले कुटेको रनाहामा मैले मलाई कुटे भनेर कराएँ, त्यहाँ आसपासमा रहेका मानिसहरुले छत छतबाट कराए । त्यसबेलासम्म उनीहरुले लगातार ममाथि तँ समाचार लेख्छस् होइन भन्दै लात्ती मुक्का प्रहार गरिरहे । उनीहरुले तेरो नाम ठेगाना सबै थाहा छ भन्दै आक्रमण गरिरहे र भने-तेरो हातमा नै ठोक्नुपर्ने हो, समाचार लेख्ने तेरो हात ।

उनीहरुले लात्ती, मुड्की जे जेले भ्याउँछ, सोही सोहीले ममाथि आक्रमण गरे । वरिपरिका घरबाट मान्छेहरु कराएपछि उनीहरु मोटरसाइकल लिएर भागे । उनीहरुको आक्रमणबाट मेरो ओठभन्दा भित्रपट्टी चोट लागेको छ भने, ढाडमा असह्य पीडा भइराखेको छ । एउटा समाचारकर्मी समाचारको खोजीमा दिनभरि दशतिर डुलेर रातिको समयमा कोठातर्फ र्फकदैं गर्दा यसरी नराम्ररी कुटिएपछि मलाई लाग्यो, कहाँ छ हामी सञ्चारकर्मीको सुरक्षा ? कसले दिन्छ हामीलाई सुरक्षा ? यो प्रश्नले ममाथि घर गरिरहेको छ । पत्रकारिताको क्षेत्रमा लागेको लगभग १३ वर्षको दौरान कसैको केही खाइएन, कसैलाई केही बिराइएन । सकेसम्म देश र जनतालाई नै केन्द्रविन्दुमा राखेर काम गरियो भन्ने लाग्छ । राम्रो गर्न नसकेपनि कसैलाई नराम्रो गरिएन । सत्यको पक्षमा नै आफूलाई उभ्याएँ । आफ्ना अग्रजले दिएको शिक्षा त्यही थियो मेरा लागि । सरकारी सञ्चार माध्यम राष्ट्रिय समाचार समितिमा काम गर्न थालेको लगभग २ वर्षबीचमा पनि कोही कसैलाई नराम्रो गरिएन ।

सकेसम्म सत्यकै पक्षमा उभ्याउने प्रयास गरें । तर अनाहकमा विश्व प्रेस स्वतन्त्रता दिवसकै पूर्वसन्ध्यामा आक्रमणको शिकार भएँ । सरकारले भन्ने गर्छ, हामी सञ्चारकर्मीको सुरक्षामा प्रतिवद्ध छौं । श्रमजीवीको अधिकारलाई सम्मान गछौँ र लागू पनि गछौँ । तर एउटा सञ्चारकर्मीकै सुरक्षा हुन सकेन भने कसरी सम्बोधन होलान् ती कुराहरु । अनाहकमा, विना अपराध मध्यरातमा गुन्डाहरुबाट कुटिनुपर्दाको पीडालाई कसरी शब्दमा उल्लेख गरौं । मसँग कुनै शब्द छैनन् । तैपनि आफूले अङ्गालेको सत्यको बाटोलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिवद्धता भने यो अवसरमा पनि व्यक्त गर्न चाहन्छु । पत्रकारको हातमा हान र तँ समाचार लेख्छस् होइन भन्दै आक्रमण गर्ने ती मित्रलाई कसले त्यो कामका लागि अह्रायो ? ती मित्रलाई पनि मेरो अनुरोध छ, यस्तो गलत काममा किन लाग्नुहुन्छ ? किनकि मैले त तिनको केही पनि बिगारिदिएको थिइँन । मैले त कलम चलाएको थिएँ, देशका लागि जनताका लागि अनि आफ्नै रोजीरोटीका लागि । मैले सकेको देश र दुनियाँलाई दिएको थिएँ । स्वतन्त्रतापूर्वक आफूलाई कलमजीवीका रुपमा उभ्याउने सङ्कल्प गरेको थिएँ । विश्वभरका सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रता दिवस मनाइरहेको बेला एउटा कलमजीवीमाथि भएको आक्रमणलाई लिएर गम्भीरतापूर्वक बोलिदिने नेपाल पत्रकार महासङ्घ, क्रान्तिकारी पत्रकार सङ्घ,राष्ट्रिय समाचार समितिका सम्पूर्ण सहयोद्धा तथा अग्रज सरहरु तथा मेरा सम्पूर्ण मित्रहरुमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्ने बाहेक मसँग कुनै पनि शब्द छैन ।दिन दहाडै एउटा सञ्चारकर्मी गुन्डाहरुको हातबाट कुटिनु पर्दछ भने सरकारलाई सोध्न चाहन्छु,कहाँ छ नागरिकको सुरक्षा अनि कहाँ छ नागरिकले स्वतन्त्रापूर्वक आफ्नो काम गर्न पाउने अवस्था ? अन्त्यमा म सबैलाई आग्रह गर्न चाहन्छु मलाई जस्तै अरुलाई नहोस् । विनाअपराध कसैले कुटाइ खानु नपरोस् ।
onlinekhabar