देशका विभिन्न ठाउँमा आगलागी, एक जनाको ज्यान गयो

काठमाडौं, चैत २९ (नागरिक) - हिजो र आज देशभरका विभिन्न ठाउँमा भएको आगलागीले करोडौं रुपैयाँ बराबरको धनमालको क्षति भएको छ भने आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।

राससका अनुसार पर्वत जिल्लाको पाखापानी गाविसको दलित बस्तीमा बुधबार दिउँसोदेखि लागेको आगलागीमा एक वृद्धाको मृत्युभएको छ।



आगलागीमा परेर पाखापानी गाविस -५ फनडाँडाकी ७० वर्षीया कौशी नेपालीको मृत्यु भएको हो। नेपालीको शव आफ्नै घरमा जलेको अवस्थामा राति भेटिएको प्रहरीले जनाएको छ। आगलागीबाट नौ घर र १२ वटा गोठ जलेर नष्ट भएका छन्।

दिउँसोदेखि भएको आगलागी राति २ बजे सशस्त्र प्रहरी, नेपाल प्रहरी र गाउँलेको प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । आगो नियन्त्रणका लागि सदरमुकाम कुस्माबजारस्थित चण्डिका सशस्त्र प्रहरी गणबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा विशेष अग्नि नियन्त्रक टोलीका साथै प्रहरी चौकी लुखुबाट प्रहरी पुगेको थियो।

आगलागीबाट भएको सबै क्षतिका बारेमा जानकारी आउन नसकेको पर्वतका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए । आगलागीबाट विस्थापितहरुलाई, चामल, चिउरा, चाउचाउ, पालजस्ता राहत सामग्री वितरण गरी तत्कालका लागि पुनःस्थापना गर्ने काम भएको उनले बताए।

यसैगरी नुवाकोटको भैरवी कपास उद्योगमा आगलागी हुँदा रु ३२ लाख मूल्य बराबरको कच्चा पदार्थ जलेर नष्ट भएको छ।

गएराति ११ बजेबाट लाग्न सुरु भएको आगोबाट उद्योगको 'ए ब्लक'मा रहेको तयारी कपास, कपास बनाउने कच्चा पदार्थ, कपडालगायतका सामग्री जलेर नष्ट भएपछि आज बिहान ५ बजेमात्र आगो नियन्त्रणमा आएको थियो।

रातभर आगो निभाउन विदुर नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीलगायतले पहल गरे पनि उद्योगमा भएका सबै सामान जलेर नष्ट भएपछि मात्र आगो नियन्त्रणमा आएको थियो।

यसै वर्ष स्थापना भएको उद्योगमा लागेको आगलागीले ५६ क्विन्टल तयारी कपास, ७०० क्विन्टल कपडा जलेर नष्ट भएको नुवाकोट प्रहरीले जनाएको छ। बिजुलीबत्ती जडान नगरिएको उद्योगको ब्लकमा लागेको आगोका कारण खुल्न सकेको छैन। रासस

यस्तै इलामको मङ्गलबारे-४ स्थित पानीटारमा गएराति आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। पानीटारका कुमार शेर्पा र अशोक प्रधानको घरमा आगलागी हुँदा लत्ता कपडा, धनमाल र खाद्यान्न जलेर नष्ट भएको हो।

कुमार शेर्पाको घरबाट राति ८ बजे सल्किएको आगोले प्रधानको समेत घर जल्दा रु १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी सहायक निरीक्षक जीवन कार्कीले बताए ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा राति १० बजे आगलागी पूर्ण नियन्त्रणमा आएको कार्कीले जानकारी दिए।

आगलागीबाट मणि तामाङको घरमा समेत सामान्य क्षति भएको छ। पीडित परिवार रातिदेखि नै छिमेकीको शरणमा छन्।

यसैबीच गएरातिदेखि नै आएको हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध बनेको छ। हावाहुरीले विद्युत् पोल तथा तारमा क्षति पुर्याएपछि रातिदेखि नै विद्युत् अवरुद्ध बनेको हो।

यस्तै गुल्मीको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा जङ्गलमा भीषण आगलागी भएको छ।

जैविक विविधताले भरिएको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा बुधबार साँझदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन।

जिल्लास्थित गुरु गोरख गुल्मबाट गएको नेपाली सेनाको एक टोली, रेसुङ्गा मन्दिर व्यवस्थापन समिति, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको संयुक्त प्रहलमा राति अबेरसम्म आगो नियन्त्रणमा लिने प्रयास भए पनि भिरालो जमिन र हावाहुरी चलेका कारण नसकिएको बताइएको छ।

बुधबार मध्याह्नदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको भनिए पनि बेलुकीदेखि पुनः सुरु भएको आगलागीले अहिले भीषण रूप लिएको छ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, रेसुङ्गा संरक्षण समिति, रेसुङ्गा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय उपभोक्ताहरू आगो नियन्त्रण प्रयास गरिरहेको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले बताए ।

आगो फैलिँदै अहिले अहिले रेसुङ्गा धुरीमा रहेको शिवालय र भ्यू टावरतर्फ फैलिएको छ। झन्डै पाँच हजार हेक्टर क्षेत्रफलमा चारैतिर फैलिएको रेसुङ्गा क्षेत्रमा जनचेतना अभाव र हेलचेक्र्याईंका कारण हरेक वर्ष आगलागी हुने गर्दछ।

आगलागीको कारण पत्ता लगाई दोषीलाई कारबाही गर्नेतर्फ भने कहिल्यै पहल नगरेको स्थानीयवासीको गुनासो छ। रासस