रेग्मी सरकारले भारतसँग भारी मात्रामा हतियार र विस्फोटक पदार्थ हतियार किन्ने निर्णय

२५ चैत, काठमाण्डौं । सरकारले छिमेकी मुलुक भारतसँग भारी मात्रामा हतियार र विस्फोटक पदार्थ खरिदसम्बन्धी औपचारिक प्रस्ताव अघि सार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले केही अनुदानसहित केही रकम तिरेर भारतसँग हतियार खरिदाका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो ।


मन्त्रिपरिषदले नेपाली सेनाका लागि भारतबाट हतियार ल्याउने औपचारिक प्रस्ताव गर्न परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोख्रेल नेतृत्वको टोलीलाई जिम्मेवारीसमेत दिएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधबप्रसाद पौडेलले सुरक्षासम्बन्धी वार्ताका लागि परराष्ट्र र सुरक्षासम्बद्ध मन्त्रालयका अधिकारीहरु भारत पठाउने निर्णय भएको जानकारी दिए ।

टोलीमा रक्षा मन्त्रालयका सहसचिव देवेन्द्र सिटौला र नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी पवनबहादुर पाँडे सहभागी रहेको अन्नपूर्ण पोष्टमा खबर छ । भारतको बैंगलोरमा सोमबारदेखि हुने सुरक्षासम्बन्धी नेपाल भारत द्विपक्षीय परामर्श बैठकमा नेपालका तर्फबाट हतियार खरिदको प्रस्ताव राखिने छ ।

नेपालले एक करोड ११ लाख ३२ हजार तीनसय थान गोली गठ्ठा र २४ हजार एक सय ६६ थान हतियार तत्कालका लागि उपलब्ध गराउन प्रस्ताव गरेको छ ।