लोडसेडिङविरुद्ध प्राधिकरणमा तालाबन्दी

जितेन्द्रकुमार झा, राजविराज, चैत २४- नेपाल-भारत विच भएको बहुचर्चित कोसी सम्झौता अनुरुप सप्तरीमा विद्युत आपूर्ति हुनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका स्थानिय व्यापारी तथा सर्वसाधारणहरुले शुक्रवार राजविराज स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका छन्।







सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा रहेका आन्दोलनकारीहरुले प्रदर्शन सहित प्राधिकरणका सम्पुर्ण शाखाहरुमा तालाबन्दी गरेका हुन्। लोडसेडिङ्ग विरुद्ध थालिएको चरणबद्ध आन्दोलनको पाँचौ दिन उनीहरुले प्राधिकरणमा तालावन्दी र प्रदर्शनका साथै झण्डै तीन घण्टा राजविराज बजार समेत बन्द गरेका थिए। राजविराजका अधिकांश ब्यापारीहरु आफै आ-आफ्ना पसल बन्द गरी तालाबन्दी गर्न प्राधिकरण पुगेका थिए।



तालाबन्दी गर्न पुगेका आन्दोलनकारीहरुले प्राधिकरणको मुल गेट नखोलिएपछि केही बेर सुरक्षाकर्मी र आन्दोलनकारीबीच घम्साधम्सी भएको थियो। सो क्रममा आन्दोलनकारीले प्राधिकरणको महुशल बुझ्ने शाखा र प्राधिकरण प्रमुख शम्भु कुसियैतको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। आक्रोशित आन्दोलनकर्ताहरुलाई प्राधिकरण प्रमुख कुसियैत नभेटेपछि उनको बोर्ड भाँच्दै बाहिर तोडफोडका साथै अभद्र काम गरेका थिए।



मुलुकभरि भईरहेको लोडसेडिङ्ग भन्दा सप्तरीमा घन्टौ बढी लोडसेडिङ्ग प्राधिकरणले गर्दै आएको कार्य तत्काल बन्द गरी कोसी सम्झौता अनुसार सप्तरीमा विद्युत आपूर्ति गर्न माग गरेका थिए। प्राधिकरण परिसरमै कोण सभाको आयोजना गरी वक्ताहरुले प्राधिकरणको रवैयामा सुधार नल्याईए आफुहरु चर्को आन्दोलनमा उत्रीने चेतावनी दिए।



कोणसभामा पूर्व राज्य मन्त्री अनिस अन्सारी, मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष युसुफ अलि, सदभावना पार्टीका दिपेन्द्र चौधरी, उद्योगण बाणिज्य संघ सप्तरीका उपाध्यक्ष शंकर दास, महा सचिव सुरेश सिंह सहितकाहरुले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको अकमर्णयताका कारण चुहावट नियन्त्रण गर्न नसकिएको र त्यको मार सर्वसाधारण उपभोक्ताहरु खेप्न बाध्य भएको वताउँदै वर्षौदेखि राजविराज शाखामा रहेका कर्मचारीहरुको अन्यन्त्र सरुवा गर्नुपर्ने माग दोहरीयाए।



प्राधिकरणमा तालाबन्दी भएपछि कार्यारत कर्मचारीहरु प्राधिकरण परिसरमा रहेको कर्मचारी संगठनको भवन नजिकै बस्न बाध्य भएका थिए। यता तालाबन्दीका कारण गाउँ-गाउँबाट विद्युत महशुल बुझाउन, उजुरी दर्ता गराउन, तथा नयाँ मिटरका लागि आवेदन दिने लगायका महत्वपुर्ण कामका लागि आएका सर्वसाधाणहरुलाई भन्ने रित्तै फर्कनु परेको थियो।



सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वमा थालिएको आन्दोलनमा सर्वसाधारण, विभिन्न राजनीतिक दल, विद्यार्थी संघ-संगठन, सञ्चारकर्मी, अधिकारकर्मी, नागरिक समाज, ब्यापारीसहितकाहरुले एकयबद्धता जनाउँदै सहभागिता जनाएका छन्। आन्दोलनका कार्यक्रम अनुसार यसअघि हस्ताक्षर संकलन, प्रशासन धर्ना र अन्तिरम चुनावी मन्त्रिपरिष्दका अध्यक्ष खिलराज रेग्मीलाई लालटिन पठाउने कार्यक्रम गरिसकेका छन्।



आफुहरुको मागलाई वेवास्ता गरी आगामि आईतवार चैत २५ गते देखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको कोसी व्यारेज पुलमा अनिश्चित कालिन चक्का जाम गर्ने कार्यक्रम रहेको सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दासले बताए।