भारत र पाकिस्तानबिच क्षेप्यास्त्र प्रक्षेपण गर्ने होडबाजी

इस्लामाबाद, चैत २९ – भारत र पाकिस्तानबिच क्षेप्यास्त्र प्रक्षेपण गर्ने होडबाजी चलेको छ। छिमेकी मुलुक भारतले मध्यम दुरीको ब्यालेस्टिक मिसाईल प्रक्षेपण गरेको केहि समय पनि बित्न नपाउदै यता पाकिस्तानले बुधबार पारमाणविक क्षमतायुक्त मध्यम दूरीको ब्यालेस्टिक मिसाईलको सफलतापूर्वक प्रक्षेपण गरेका छन।

पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्धले जारी गरेको एक विज्ञप्तिमा मध्यमदूरीको ब्यालेस्टिक क्षेप्यास्त्र हात्फ चौथो साहीन १ हतियार प्रणाली सफलतापूर्वक प्रक्षेपण गरिएको उल्लेख गरिएको छ। उक्त क्षेप्यास्त्रमा परम्परागत हतियारका साथै पारमाणविक क्षमता पनि रहनसक्ने र त्यसले ९०० किलोमिटरसम्मको दूरीमा प्रहार गर्नसक्ने छ।

विज्ञप्तिमा यस क्षेप्यास्त्रमा विद्यमान प्राविधिक क्षमतामा विस्तार भएको पनि उल्लेख गरिएको छ। क्षेप्यास्त्रको प्रहारको लक्ष्य सामुद्रिक क्षेत्र भएको र त्यसलाई पाकिस्तानको क्षेप्यास्त्र प्रणालीका वरिष्ठ अधिकारीहरूले अवलोकन गरेको बताइएको छ। यस अघि भारतले गत ७ तारीख आइतबार मध्यम दुरीको अग्नी मिसाइल दोस्रोको सफल प्रक्षेपण गरेको थियो।

भारतले प्रक्षेपण गरेको उक्त मिसाइलले २००० किलोमिटरसम्म प्रहार गर्ने सामर्थ्य राख्दछ। ओडिसबाट यो मिसाइलको परिक्षण गरिएको हो। मोबाइल लञ्चरको प्रयोगबाट परिक्षण गरिएको यो मिसाइल आणविक हतियार बोक्न सक्दछ। जमिनबाट जमिनबाट प्रहार गर्ने यो मिसाइले हजार किलो सामाग्री बोकेर २००० किलोमिटरभित्र प्रहार गर्न सक्दछ।

एडभान्स्ड हाई एकुरेसी नेभिगेसन सिस्टम प्रयोग गरिएको मिसाइलको तौल १७ टन रहेको छ। भारतले यसअघि अग्नी सिरिजका अन्य मिसाइलहरुको पनि सफल परिक्षण गरिसकेको छ। अग्नी-पहिलोले ७०० किलोमिटर, अग्नी तेस्रोले ३००० किलोमिटर, अग्नी-चौथोले ४००० किलोमिटर र अग्नी पाँचौले ५००० किलोमिटरसम्म प्रहार गर्ने सक्दछन।