सरकारले दिएको १५ लाख लिएर लडाकु कमान्डर बेपत्ता

१० माघ, काठमाण्डौं । स्वैच्छिक अवकाश लिएका लडाकुले सरह आर्थिक प्याकेज माग्दै आन्दोलन गरेका माओवादीको बहिर्गमित लडाकुका कमान्डरसहित तीन जना मोटो रकम लिएर फरार भएका छन् ।

सरकारले आन्दोलनमा लागेका अढाईसय भन्दा बढीलाई बाँड्ने गरी सोमबार १५ लाख रुपैयाँ दिएको थियो । शान्ति तथा पुननिर्माण मन्त्रालयले दिएको उक्त रकम लिएर लडाकू आन्दोलनका अगुवा लेलिन विष्टसहित तीन जना हराएको कान्तिपुर दैनिकमा खबर छ । सम्पर्कबिहीन भएका विष्ट, थर नखुलेका भीम र अर्का एक छन् । विष्टले मन्त्रालयबाट चेक पाएपछि तुरुन्तै साटेका थिए । बेलुका उक्त रकममध्ये चारलाख २५ हजार रुपैयाँ बोेकेर विष्ट सिँचाइमन्त्री महेन्द्रप्रसाद यादवका ज्वाई मनोज अधिकारीलाई लिएर पुल्चोकस्थित मन्त्री क्वाटर पुगेको स्रोतले जनाएको छ । लेलिन बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष थिए । उनले उक्त रकम १५ लाख रुपैयाँबाट एक एक लाख लडाकूका सातवटै शिविरबाट बहिर्गमन भएका लडाकुलाई बाँड्न दिने सहमति भएको थियो ।