थाहै नपाई गर्भवती !

‘वैज्ञानिकले गल्ती गर्‍यो भने नयाँ आविस्कार बन्छ, कलाकारले गल्ती गर्‍यो भने नयाँ चित्र बन्छ र दम्पतीले गल्ती गर्‍यो भने नयाँ बच्चा बन्छ,’ यो भनाइ सर्वव्यापी भएको छ। आमाबाबुको रहरले होइन, गल्तीले थुप्रै बच्चा जन्मिरहेका छन्।

महिलाहरू गर्भवती भए/नभएको पहिलो सूचना नियमित रजस्वला रोकिनु हो। रजस्वला रोकिएपछि महिलाहरू आफू गर्भवती भएको शंका गर्छन्। तर, गर्भवती नै भएको हो भनेर पक्का गर्न स्वास्थ्य परीक्षण गराउनु अनिवार्य छ। चर्चित अभिनेत्री सञ्चिता लुइँटेलले नायक निखिल उप्रेतीसँग बिहे गरेर २०६८ साल साउन २५ गते पहिलो सन्तानका रूपमा छोरी जन्माइन्। नायक उप्रेती मुम्बईमा बस्ने गरेको भए पनि बरोबर काठमाडौँ आइरहन्थे। मुम्बईबाट काठमाडौँ आउने जाने क्रममा उनी सञ्चितासँगै बस्थे। छोरीकी आमा सञ्चिताको सुत्केरीपछि पनि पेट घटेन। उनले सुत्केरी मासु लागेको होला भन्ने सोचिरहेकी थिइन्। तर, पेटभित्र केही चल्न थालेको थाहा पाएपछि उनी डाक्टरकहाँ गइन्। उनी गर्भवती भइसकेकी रहिछन्। काभ्रेको कुशादेवीबाट बनेपामा आई सामान्य रोजगारी गरेर बसेकी गोमा अधिकारीले पहिले नै चार सन्तान जन्माएर हुर्काएकी थिइन्। आफ्ना श्रीमान् खाडी मुलुक गएपछि उनले आफ्ना नन्दका श्रीमान्सँग शारीरिक सम्बन्ध कायम गरिन्। शारीरिक सम्बन्ध राखे पनि हरेक महिना महिनावारी भइरहेकाले उनले डराउनुपर्ने अथवा चेक गराउनुपर्ने आवश्यकता देखिनन्। गत माघमा उनी एकाएक बेहास भइन्। योनीबाट रगत बग्न थालेपछि उनलाई सासूले धुलिखेल अस्पतालमा पुर्‍याइन्। अस्पताल पुर्‍याएपछि उनले सात महिनाको मृत बच्चा जन्माइन्। यतिखेर उनी धुलिखेल प्रहरी कस्टडीमा छिन्। दिनेश र रमिता दुवै जना शाखा अधिकृत हुन्। केही वर्षपछि सन्तान जन्माउने सोचाइ बनाएका थिए उनीहरूले। गत दशैँअगाडि रमिताको स्तन दुख्न थाल्यो। सामान्य कुरा होला भनेर उनीहरू दुवैजना गाडीको २२ घण्टे यात्रापछि पूर्वी पहाडको घरमा गए। तिहारसम्म घुमफिर गरे। तिहारपछि रमिताका स्तन अररो र पेटमा अप्ठेरो भएपछि डाक्टरकहाँ परीक्षण गराउँदा आफ्नो पेटमा चार महिनाको बच्चा भएको उनले थाहा पाइन्। त्यसैगरी बिराटनगरबाट काठमाडौँ आएकी १९ वर्षीय दु्रपसाले बिहे गरे पनि उनीहरूको अहिल्यै बच्चा जन्माउने योजना थिएन। भर्खर स्तातक तहको अध्ययन थालेकी द्रुपसाले स्नातक तह सिध्याएपछि मात्र बच्चा जन्माउने सोचेकी थिइन्। उनले पनि गर्भ रहेको चार महिनापछि मात्र थाहा पाइन्। यी घटनाले नेपाली समाज अहिले पनि धेरै पछि छ भन्ने कुरा स्पष्ट देखाउँछ। शहरमा बसोबास गर्ने शिक्षित महिलाहरू पनि गर्भ रहे-नरहेको कुरामा सचेत देखिँदैनन्। यसो हुनुको मुख्य कारण स्वास्थ्य चेतनाको कमी नै हो। प्रजनन तथा यौन स्वास्थ्यविज्ञ डा. खेम कार्कीका अनुसार सुत्केरी भएको ४५ दिनपछि महिलाहरूमा गर्भधारण गर्नसक्ने क्षमताको विकास हुन्छ। निषेचनका लागि डिम्बनलीमा डिम्ब आइपुग्ने भएकाले सुत्केरी भएपछि महिनावारी नभईकन गर्भवती हुनसक्ने सामान्य कुरा रहेको उनी बताउँछन्। त्यसकारण सुत्केरी भएको ४५ दिनपछि गरिने यौन सम्पर्कले गर्भधारण गर्नसक्ने हुनाले सुरक्षित उपाय अपनाउनुपर्छ। सामान्यतः महिलाहरू गर्भवती भएपछि बच्चा नजन्माउन्जेल महिनावारी बन्द हुन्छ। तर अनियमित रूपमा योनीबाट रक्तस्राव हुनसक्ने र त्यस्तो रक्तस्रावलाई महिलाहरूले आफू महिनावारी भएको ठानेमा पनि गर्भ रहेको थाहा नहुने डा. कार्की बताउँछन्। उनी भन्छन्, ‘कहिलेकाहीँ पाठेघरको मुखमा भएको संक्रमण अथवा शारीरिक दबाबका कारण पनि योनीबाट रगत निस्कनसक्छ। योनीबाट रगत निस्कँदा महिनावारी भएको ठान्नुहुँदैन।’ नियमित रूपमा महिनावारी नभएका महिलाहरूले गर्भवती भएको तीन महिनासम्म थाहा नपाउनु पनि डा. कार्की सामान्य ठान्छन्। जन्मनिरोधक साधन (कण्डमबाहेक)को प्रयोगले महिनावारीलाई अनियमित बनाउनु सामान्य हुन्छ। महिनावारी कहिले १५ दिनमै हुने र कहिले डेढ/दुई महिनासम्म नहुने हुनाले महिलाहरूले आफू गर्भवती भएर महिनावारी रोकिएको अथवा अन्य कारणले भन्ने थाहा पाउँदैनन्। अन्य समस्या ठानेर स्वास्थ्यकर्मीसँग परीक्षण गराउँदा उनीहरू तीनचार महिनाका गर्भवती बनिसकेका हुन्छन्। योजनाविना गर्भवती बन्दा र सन्तान जन्माउनुपर्दा महिलाहरू त्यति खुशी हुँदैनन्, जसका कारण बच्चाको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्छ। पेटमा भएको बच्चा आफ्नो इच्छाविपरीत बसेको ठानेपछि महिलाहरू तनावग्रस्त हुन्छन् र गर्भको बच्चालाई हेरविचार पुग्दैन। सामान्यतया गर्भ रहेको शुरूको तीन महिना जोखिमपूर्ण समय रहेको र यस अवधिमा धेरै हेरविचार गर्नुपर्ने डा. कार्की बताउँछन्। यो समयमा कडा श्रमको काम गर्न नहुने, लामो दूरी र कच्ची सडकको यात्रा गर्न नहुने बताउँदै डा. कार्की भन्छन्, ‘बच्चा तुहिनुको मुख्य कारण नै गर्भ रहेको शुरूको तीन महिनालाई बेवास्ता गर्नु हो।’

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।