प्रहरीले मुन्द्रे ट्यापेको कपाल मुढीदिएपछि चौकीमा तनाव, पूर्वपश्चिम राजमार्ग पनि ठप्प

चैत्र ४ - झापास्थित इलाका प्रहरी कार्यालय बिर्तामोडले मादक पदार्थ सेवन गरी होहल्ला गरी हिड्ने ५ जना मुन्द्रे ट्यापेलाई नियन्त्रणमा लिएको विषयलाई लिएर त्यहाँ तनाव उत्पन्न भएको छ ।



प्रहरीले विमल थापा, रोहित भण्डारी, दीपेश पौडेल, नेत्र खवास र लील शंकरलाई नियन्त्रणमा लिई कपाल समेत मुढिदिएपछि युवाहरुले इलाका प्रहरी कार्यालय बिर्तामोडमा नाराबाजीसहित घेराउ गरेको पत्रकार राजु पौडेलले जानकारी दिएका छन् ।



इनिस्पेक्टरले युवाहरुको टाउको मुढिदिएको विषयमा माफी माग्नु पर्ने भन्दै युवाहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत विर्तामोडमा टायर बालेर राजमार्ग समेत ठप्प पारेका छन् ।



११ बजेदेखि युवाहरुले विरोध गर्दै प्रहरी चौक घेराउ समेत गरेपछि ठूलो संख्यामा जिल्लाबाट त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।



पछिल्लो समय प्रहरीले देशव्यापी रुपमा मुन्द्रे ट्यापे तथा कपाल पाल्नेलाई पक्राउ गरी कपाल काटेर पठाईदिने गरेको भएपनि सोही विषयलाई लिएर झापाको बिर्तामोडमा भने युवाहरुले प्रदर्शन गरेका हुन् ।