आजै सहमती हुन्छ नभए भोली बेलुकासम्म हुन्छ : प्रचन्ड

१ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आज बस्ने प्रमुख दलहरुको संयुक्त बैठकले राजनीतिक समस्या समाधान गर्ने दाबी गर्नुभएको छ ।

पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनेबारे छलफल गर्न मंगलबार अपरान्ह सुशील कोइराला निवासमा प्रमुख चारदलको बैठक आयोजना गरिएको छ । ‘हिजो राष्ट्रपतिसमक्ष छलफल हुँदा एमाले कांग्रेसका साथीहरुले भोलि सहमतिमा पुगिन्छ भन्नुभएको छ, शायद आजै सहमति हुन्छ ।’ खुल्ला मञ्चमा पार्टीद्वारा आयोजित १८ औं जनयुद्ध दिवसलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो-’ आज नभए भोलि बिहान हुन्छ, नभए भोलि बेलुकासम्म सहमति हुन्छ ।’

संसारमा जहाँ पनि अप्ठ्यारो पर्दा न्यायाधीशलाई काममा लगाउन सकिने भन्दै प्रचण्डले नेपालको संविधानले बहालावाला न्यायाधीशलाई जिम्मेवारी दिन सकिने किटेरै लेखेको बताउनुभयो । ‘दिउँसै रात पार्ने गरी विद्धान वकिलहरुले वक्तव्य निकाल्नुभएको छ, संविधानले लेखेको यो कुरामा किन वकिलहरुको आँखा नपुगेको होला ?’- प्रचण्डले प्रश्न गर्नुभयो ।

बहालवाला प्रधानन्यायधीशलाई कुनै पनि पदमा जिम्मेवारी दिनु संविधानसम्मत नभएको भन्दै सोमबार नेपाल बार एसोसिएसनका पदाधिकारी प्रेस वक्तव्य जारी गर्नुका साथै साष्ट्रपतिलाई भेटेर ध्यानाकर्षण गराएका थिए । वकिलहरुको यो कदमको विरोधमा प्रचण्डका साथै प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत खुल्लामञ्चबाट टिप्पणी गर्नुभएको छ ।