आफैलाई बलात्कार गर्‍यो भन्नेसँग विवाह !

जाजरकोट, जबरजस्ती करणी मुद्दाका प्रतिवादीसँग पीडित महिलाले बिहे गरेकी छन् । मजकोट ६ की महिलाले आफ्नै प्रतिवादीसँग विवाह गरेकी हुन् ।
आठ महिनाअघि छिमेकी लालबहादुर शाहीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेकी उनले उनैसँग औपचारिक विवाह गरेर अदालतमा उपस्थित भएकी हुन् । उनले शाहीविरुद्ध गत असार दोस्रो

साता जबरजस्ती करणी उजुरी दर्ता गरेकी थिइन् । उजुरीमा गाउँको भतिजा नाता पर्ने लालबहादुरले गत असार १३ गते साँझ अबेर बास मागेर बलात्कार गरेको उल्लेख छ । 'घरमा केटाकेटी र दिदीका कान नसुन्ने ससुरा थिए । भतिजो नाता पर्ने भएकाले बिनासंकोच एउटै कोठामा सुत्दा राति मुख थुनेर जबरजस्ती गर्‍यो', उनले उजुरीमा भनेकी छन् ।

प्रहरीले फरार शाहीलाई पक्राउ पुर्जी जारी गरेको थियो । तर, गत साता फरार शाही र पीडित महिला विवाह दर्ता तथा नागरिकता प्रमाणपत्रसहित अदालतमा उपस्थित भएका हुन् । औपचारिक विवाहको जानकारी दिन र मुद्दा फिर्ता लिन आएको शाहीले बताए । 'विवाह गरिसकेपछि केको कारबाही ?', उनले भने । जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलले शाहीलाई बकपत्रका लागि कानुनी प्रक्रियाअनुरूप प्रहरीमार्फत आउन निर्देशन गरे ।

अर्को दिन प्रहरीमार्फत आएका शाहीले अदालतमा गरेको बयानमा करकाप नभई विवाह गर्ने उद्देश्यले खुसीराजीसाथ यौनसम्पर्क गरेको स्विकारेका छन् । यता, विवाह गर्न नमानेपछि बलात्कार उजुरी दिएको महिलाले बयानमा उल्लेख गरेकी छन् । बकपत्रपछि शाहीलाई न्यायाधीश पौडेलको थुनछेक आदेशले पुर्पक्षका लागि जिल्ला कारागारमा चलान गरिएको स्रेस्तेदार अधिकृत खिमबहादुर कार्कीले बताए । 'कैद सजायबाट बच्न विवाह गरिएको उल्लेख गर्दै स्रेस्तेदार कार्कीले भने, 'स्थानीयस्तरको दबाब र प्रलोभनका कारण अपराध लुकाउने चालजस्तो देखिन्छ ।'