बालुवाटारलाई बाईबाई भन्न भट्टराईलाई हतारो

सानेपाको पुरानो निवासमा चहलपहल

१ फागुन, काठमाडौं । विपक्षी दल र आलोचकहरुले पद लोलुपताको संज्ञा दिइरहेपनि प्रधानमन्त्री डा. बाबुराम भट्टराई कहिले बालुवाटार छोडौंला भन्ने हतारोमा देखिनुभएको छ । जेठ १५ भित्र संविधानसभाको चुनाव गर्नेगरी सहमतीय सरकार गठनमा सहमति जुटाउन दलहरुले प्रयास तीव्र पारिरहेकै बेला भट्टराईले बालुवाटार छोड्ने तयारी तीव्र पार्नुभएको हो ।
उहाँको निजी सचिवालयका अनुसार जुनसुकै बेला पनि राजीनामा दिनुपर्ने अवस्था आउनेभन्दै प्रधानमन्त्रीले अरु मन्त्रीहरुलाई पनि तयारी रहन निर्देशन दिइसक्नुभएको छ । ‘दलहरुबीच सहमतिको वातावरण बन्दै जाँदा जुनसुकै बेला पनि छोड्नुपर्छ भनेर तयारी भएको हो’ प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले अनलाइनखबरसित भन्नुभयो ।

पाण्डेका अनुसार भट्टराईको पुरानो निवास ललितपुर सानेपामा सोमबार सरसफाई गरिएको छ । मंगलबार सामान सार्ने लगायतका अरु काम भएका छन् । जुनसुकै बेला पनि आउन सक्नेगरी सानेपाको निवासलाई तयारी अवस्थामा राखिएको छ ।

प्रधानमन्त्रीको यो तयारीले मुख्य दलहरुबीच मंगलबार हुने छलफलले चुनावी सरकारको नेतृत्वबारे सहमति जुटाउने संकेत दिएको छ ।