महिला हिंसा र दण्डहिनताको विरुद्धमा ‘मैना’

देशमा महिला हिंसा, मानवअधिकार हनन र दण्डहिनता बढिरहेको समयमा यसै बिषयमा केन्दि्रत रहेर तयार पारिएको चलचित्र ‘मैना’ फागुन ४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । विभिन्न देशमा विशेष शो पश्चात यो सिनेमाले नेपालका हलमा आफुलाई उभ्याउन लागेको हो । केपी पाठकको निर्देशनमा तयार भएको चलचित्रलाई जिवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेका हुन् ।

निर्देशक पाठकले ‘मैना’ महिला हिंसा, मानवअधिकार र दण्डहिनताको विरोधमा चलचित्रको माध्यमबाट गरिएको सिर्जनशील आन्दोलन भएको बताए । जनयुद्धकालमा काभ्रेकी मैना सुनवारलाई चरम यातना पछि तत्कालिन शाही सेनाले गरेको हत्याको बिषयमा तयार भएको चलचित्रको शिर्ष भुमिकामा अनिता केसीलाई देख्न सकिनेछ । उनका साथमा चलचित्रमा राधा श्रेष्ठ, गोविन्द प्रभात, सुनिता ठाकुर, घनश्याम जोशी, निरञ्जन बस्नेत लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘मैना’ निर्माण भएपछि नेपालमा बास्तवीक घटनामा आधारित सिनेमाको निर्माण हुनेत्र क्रम बढेको निर्देशक पाठकको दाबी छ । पाठकले भने, ‘बिषय उठान गर्ने काम चलचित्रकर्मीको हो, त्यसलाई कार्यन्वयन गर्ने काम राज्यको हो ।’ चलचित्रमा रामेशको संगीत, नयनराज पाण्डेको लेखन छ ।भिडियोसहित हेर्नुहोस् ।