यसरी सकियो ! माओवादीको महाधिवेशन (भिडियो/फोटोफिचर सहित)

माघ ३ – जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा पास गर्दै र पुनः पुरानै नेतृत्वलाई कामय गर्दै नेकपा–माओवादीको सातौं महाधिवेशन राजधानीमा सम्पन्न भएको छ ।

पुस २५ देखि २९ सम्म भनिए पनि २ दिन लम्बिर्दै राजधानीको प्रज्ञा भवनमा सम्पन्न महाधिवेशनले आठ सदस्यपछि थप्ने रीग ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । ४३ जना पूर्वपदाधिकारीलाई पुनः सोही पदमा निर्वाचित गरेको छ हो जसअन्तर्गत अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्षमा सिपी गजुरेल, महासचिवमा रामबहादुर थापा तथा सचिवद्वयमा देव गुरुङ र नेत्रविक्रम चन्द रहेका छन् । पदाधिकारी पाँच जना नै स्थायी समिति रहने छन् भने महाधिवेशनले १३ सदस्यीय पोलिटब्युरो निर्वाचित गरेको छ । पोलिटब्युरोमा पदाधिकारीबाहेक पम्झा भुसाल, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, धर्मेन्द्र बास्तोला, नारायण शर्मा, हितमान शाक्य , खड्गबहादुर विक र कुलप्रसाद केसीलाई निर्वाचित गरेको छ । माओवादीको पदाधिकारी र पोलिटब्युरोमा यसअघिकै सदस्य पुनःनिर्वाचित भएका छन् । यसअघिको ४४ सदस्यीय केन्द्रीय समितिमा रहेका कृष्णध्वज खड्का, रेखा शर्मा र कुमार दाहालबाहेकका ४१ जना केन्द्रीय सदस्यलाई यथावत् राख्दै मौसम लिम्बू र लक्ष्मण पन्तलाई थप गरिएको छ भने बाँकी आठ जना अब बस्ने केन्द्रीय समितिले चयन गर्ने छ ।

को को दोहोरिए केन्द्रीय सदस्य

केन्द्रीय सदस्यमा राम आचार्य, महेन्द्र पासवान, भरत बम, दिलीप प्रजापति, उमा भुजेल, महेश्वर दाहाल, कृष्णदेव सिंह दनुवार, सन्तोष बुढा, जयपुरी घर्ती, ईश्वरी दाहाल, सुरेश आलेमगर, मायाप्रसाद शर्मा पुनः चयन भएका छन्। यसैगरी, चन्द्रहरि सुवेदी, अनिल शर्मा, सावित्रीकुमार काफ्ले, हिमाल किराँती, सूर्यप्रसाद सुवेदी, यशोदा सुवेदी, सरला रेग्मी, पवनमान श्रेष्ठ, दिनेश शर्मा, पदम राई, श्रीराम ढकाल, पूर्ण घर्ती, अमृता थापामगर, श्रीनाथ अधिकारी र सन्तोष बुढालगायत दोहोरिएका हुन्।

जनव्रिदोहको जगमा जनविद्रोह कार्यदिशा पास

उक्त महाधिवेशनले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशाका रुपमा जनयुद्धको जगमा जनविद्रोह कार्यदिशा पास गरेको छ । महाधिवेशनपछि पम्फा भुसालले दीर्घकालीन रूपमा नयाँ जनवादी क्रान्ति गर्ने र तत्कालीन रूपमा राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालमा जनआन्दोलन चर्काउने निर्णय भएको छ र यो महाधिवेशन क्रान्तिकारीको एकताको र नवसंशोधनवाद विरुद्धको विजय भएको बताइन् ।

तीन जना पूर्व केन्द्रिय सदस्य हटाइयो

महाधिवेशनबाट तीन जना पूर्व केन्द्रिय सदस्यलाई हटाइएको छ । उनीहरुमा कृष्णध्वज खड्का, कुमार दाहाल र रेखा आचार्य छन् । महाधिवेशनको बन्द सत्रमा उनीहरूले स्वेच्छाले केन्द्रीय सदस्यबाट अवकाश लिएको बताइएको छ ।

राष्ट्रियता र जनताको मुक्तिका लागि मृत्युवरण गर्न तयार

नवनिर्वाचित अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रियता र जनताको मुक्तिका लागि आफू मृत्युवरण गर्नसमेत तयार रहेको बताएका छन् ।
महाधिवेशन समापन कार्यक्रममा उनले भने, 'नवसंशोधनवादीसँग त्यतिकै सम्बन्धविच्छेद गरेका होइनौं, मुक्तिकामी जनताका लागि मृत्युवरण गर्न तयार छौं । 'क्रान्तिकारी झन्डा निहुँरिइरहेको अवस्थामा आफूले कुनै हालतमा त्यसलाई झुक्न नदिनेु उनको भनाइ थियो । 'म मर्छु, तर राष्ट्र र जनतालाई धोका दिन्नँ, वैद्यले भने, 'साथीहरू अब दिनहरू अप्ठ्यारा आए ।' वैद्यले यस्तो प्रतिबद्धता जनाइरहँदा बन्दसत्रको हलमा रहेका कार्यकर्ताले ताली पिट्दै सहमति जनाएका थिए ।